काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यात्रुलाई अनलाइनमार्फत टिकट बुक गर्न आग्रह गर्नुभएको छ । आज नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यात्रा गर्दा अनलाइन मार्फत टिकट काटेर यात्रा गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “अनलाइन बुकिङ अब सहज बनेको छ, सबै यात्रुले यसलाई प्राथमिकता दिनुपर्छ ।”
स्वाँरले यात्रुहरुलाई यात्रा अघि मौसमी जानकारी लिएर मात्र यात्रा गर्न, आवश्यक खाद्यान्न तथा सामग्री साथमा लिनु, टिकट किन्दा सावधानी अपनाउनु पर्ने सुझाव समेत दिनुभएको छ । उहाँले अहिले पनि सडक निर्माण परम्परागत शैलीमै भइरहेको भन्दै सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनका कारण दशैंसम्म वर्षा भइरहने समस्या देखिएको उहाँको भनाई छ ।