काठमाडौं । गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन भनेको छ। नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो ।
नख्खु कारागारका सूचना अधिकारीले बिहीबार एक सूचना जारी गरेर मंगलबार भागेका रविसहितका सबै कैदीहरूलाई सम्पर्कमा आउन भनेको हो । उक्त सूचना जारी गरेर नख्खु कारागार प्रशासनले फरार भएका सबै कैदी र थुनुवालाई अविलम्ब आत्मसमर्पण गर्न औपचारिक अपिल गरेको छ।
उक्त सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी कारागार प्रशासनले दिएको छ ।
कारागार प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।