काठमाडौं । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ भन्दै ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।
उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । यसको नेतृत्व कसले गर्छ, थाहा छैन । कसले सम्हाल्छ थाहा छैन । तर, उद्देश्य सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ रहेको बताइएको छ।
टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुने बताइएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ । स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लिएको छ ।