काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार भक्तपुरको चाँगुनारायणस्थित मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गर्ने निर्णय गरेको छ ।
कोषको शनिबार बसेको साधारण सभाले २०८२ मा प्रदान गरिने पुरस्कार तथा सम्मानबारे निर्णय गरेको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ । २०७५ मा स्थापित सेवा घरले बेसहारा, वृद्ध र अनाथ बालबालिकालाई आश्रय उपलब्ध गराउनुका साथै शिक्षाको व्यवस्था मिलाएको छ ।
यसैगरी १ लाख नगदसहित सम्मानपत्र रहने रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार ४ वटा सामाजिक संस्थालाई प्रदान गर्ने निर्णय कोषले गरेको छ । पुरस्कृत हुनेमा बुढानीलकण्ठस्थित अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, चितवको गामबेसीका चेपाङ संरक्षण केन्द्र र ललितपुरको तुलसी फाउण्डेशन छन् । पुरस्कार तथा सम्मान भदौ २१ मा प्रदान गरिने जनाइएको छ ।