Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झन्डै ६० प्रतिशत

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झन्डै ६० प्रतिशत

  • बुधवार, भाद्र ४ २०८२

  • 723
    SHARES

  • सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झन्डै ६० प्रतिशत

    पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झन्डै ६० प्रतिशत पुगेको छ । सुरुङमार्ग आयोजनाका अनुसार अहिले सुरुङमार्गमा टनेल लाइनिङ अर्थात् भूइँ र भित्ता ढलानको काम भइरहेको छ । यसबाहेकका अरू काम पनि निरन्तर चलिरहेका छन् ।

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । पछिल्लो चरणमा भौतिक प्रगति ५९.७३ प्रतिशत छ र वित्तीय प्रगति ५१.१ प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । 

    मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ) को काम सकिएको छ । अहिले सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ । सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय ५१ मिटर, दोस्रो एक सय ६१ मिटर र तेस्रो एक सय ३० मिटर छ  । पहिलो बाइपासमा एक सय ४५ मिटर इन्भर्ट र एक सय २४ मिटर लाइनिङको काम सकिएको छ । 

    दोस्रो बाइपासमा इन्भर्टको काम १५७.८ र लाइनिङको काम ८.३ मिटर सकिएको छ । यस्तै सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम एक सय २५ मिटर र लाइनिङको काम १०४.२ मिटर भइसकेको छ । दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ झन्डै सात मिटर रहने छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका गाडी ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । 

    २०७९ सालदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार एक सय २६ मिटर सुरुङमार्ग निर्माण शुरु भएको हो । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा काम गरिरहेको छ । आउँदो २०८३ सालसम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।   


    बुधवार, भाद्र ४ २०८२१२:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij