काठमाडौं। नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष जगत पोखरेलको नेतृत्वमा काठमाडौँमा रोटरी क्लब अफ भिजन काठमाडौँ गठन भएको छ। लामो समय नेपाल जेसिजसँग आबद्ध रहँदै राष्ट्रिय अध्यक्षसमेत बनिसक्नु भएका पोखरेल हाल पनि जेसिजका प्रभावशाली पूर्व अध्यक्षका रूपमा परिचित हुनुहुन्छ।
नेपाल जेसिसको सञ्जाल र सम्बन्धलाई कायम राख्दै उहाँले रोटरीमा पनि सक्रिय हुन लाग्नुभएको हो । पोखरेल संस्थापक अध्यक्ष रहेको क्लबको निर्वाचित अध्यक्षमा कृष्ण प्रसाद दुलाल, मनोनित अध्यक्षमा उत्तम कुमार श्रेष्ठ, उपाध्यक्षद्वय आनन्द चौधरी र गीता शर्मा, सचिवमा अर्जु सिटौला, सह–सचिवमा विनोद अधिकारी, कोषाध्यक्षमा जनक भुसाल चयन हुनु भएको छ ।
यसैगरी क्लबको प्रशासन संयोजक मीरा थपलिया (पन्त), सेवा परियोजना संयोजक गणेश प्रसाद अधिकारी, द रोटरी फाउन्डेशन अजय कुमार मिश्र, सदस्यता संयोजक निकिला श्रेष्ठ, सार्वजनिक छवि निर्माण संयोजक भेषराज गौतम, सर्जेन्ट–एट–आम्र्स नारद भण्डारी, सम्पादक सरिन घिमिरे, सूचना प्रविधि प्रमुख भारत न्यौपाने र सहजकर्ता कबिन्द्रध्वज जोशीलाई बनाइएको छ।
क्लबले आफ्नो पहिलो सेवामूलक कार्यक्रमको रूपमा शुक्रबार बिहान नर्भिक अस्पताल, थापाथलीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लबकी सचिव आर्जु सिटौलाले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेश कुमार श्रेष्ठ रहनु भएको थियो।
अध्यक्ष पोखरेलले सामाजिक उत्तर दायित्वको भावनाले सुरु गरिएको क्लबको पहिलो कार्यक्रम सबैभन्दा पवित्र कार्य रक्तदान कार्यक्रमवाट सुरु गरिएको जानकारी दिनुभयो । अध्यक्ष पोखरेलले क्लब मार्फत आगामी दिनमा पनि अरु धेरै सामाजिक तथा रचनात्मक कार्यक्रमहरू गर्ने तयारी गरिएको पनि बताउनुभयो।