Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिडिओले कारागारमा ‘गोली’ चलाउन अनुमती नदिएपछि...

सिडिओले कारागारमा ‘गोली’ चलाउन अनुमती नदिएपछि...

  • बिहिवार, श्रावण २९ २०८२

  • 872
    SHARES

  • सिडिओले कारागारमा ‘गोली’ चलाउन अनुमती नदिएपछि...

    काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीबीचको मनमुटावले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाउन आदेश मागेको तर सीडीओले नदिएको खुलेको छ । शुक्रबार राति १२ः५५ मा ब्लक ‘ए’ का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।

    आक्रमणमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए । तत्कालै कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनर सिंह राणालाई रिपोर्टिङ गर्नुभएको थियो ।

    रिपोर्टिङका क्रममा एसपी राणाले कैदीबन्दीबीचको विवादले हिंसात्मक रूप लिन लागेको र गोली चलाउनुपर्ने अवस्था आएको बताएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार एसपी राणाले तत्काल कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई टेलिफोन सम्पर्क गरी कारागारको स्थिति बिग्रिएको भन्दै गोली चलाउने आदेश माग्नुभएको थियो । तर प्रजिअ हमालले आदेश दिन अस्वीकार गरेपछि प्रहरी रोकिएको थियो ।

    प्रहरी उपरीक्षक राणाले एकपटक मात्र होइन, प्रमुख जिल्ला अधिकारीसँग राति नै दुईपटक गोली चलाउने आदेश मागेको बताइएको छ । ‘कारागारभित्रको बन्दीगृहमा गोली चलाउने आदेश मागिएको थिएन तर कम्तीमा हवाई फायर गर्दा स्थिति साम्य पार्न सकिने थियो,’ सुरक्षा स्रोतले दाबी गरेको छ, ‘प्रमुख जिल्ला अधिकारीबाट चुस्त रूपमा सुरक्षा कमान्ड नहुँदा सबै सुरक्षा निकाय कारागारको घटनामा चुकेका हुन् ।’

    प्रहरीलाई हवाई फायर गर्न आदेश नदिएको, कारागारमा कैदीबन्दीहरूबीच शृङ्खलाबद्ध घटना हुने बेलासमेत गम्भीर रूपमा नलिएको, कैदीबन्दीको स्थानान्तरणमा पारदर्शिता नगरेको जस्ता गम्भीर आरोप लागेपछि गृह प्रशासनले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई तानेको छ ।

    गृहमन्त्रालयले गरेको छानबिनका क्रममा प्रमुख जिल्ला अधिकारीबाट कारागार सुरक्षामा गम्भीर लापरबाही भएको तथ्य फेला परेपछि उहाँलाई तानिएको हो । उहाँको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई पठाइएको छ ।

    डिस्चार्ज भएका २७ कैदीबन्दी अस्पतालमै, तीनको सरुवा
    कैलाली कारागारमा गत शुक्रबार भएको घटनामा घाइते भएका ४८ कैदीबन्दीमध्ये २७ जना डिस्चार्ज भएका छन् । बुधबार साँझ सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालले २७ जनालाई डिस्चार्ज गरे पनि तत्काल भने उनीहरूलाई अस्पतालमै राखिएको छ ।

    तर, तीनजना कैदीबन्दीको भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले कैदीबन्दी डिस्चार्ज भए पनि तत्काललाई अस्पतालमै राखिएको बताउनुभयो । घाइते कैदीबन्दीलाई तत्काल कैलाली कारागारमै फर्काउँदा पुनः झडपको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले उनीहरूलाई तत्काल नलगिएको प्रहरीले जनाएको छ ।

    घाइते भएका अधिकांश कैदीबन्दीले कैलाली कारागार फर्किने अवस्था नभएको भन्दै आफन्तहरूले अन्यत्र स्थानान्तरण गरिदिन माग गरिरहेका छन् । स्थानान्तरणको सम्बन्धमा छलफल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।


    बिहिवार, श्रावण २९ २०८२०२:३७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij