काठमाडौं । आज गाईजात्रा पर्व मनाईएको छ । काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो गाईजात्रा । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार संस्कृतिबाट सुरू भएको जात्रा गाईजात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेशअनुसार हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।
गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाउने चलन छ । आज हाँस्य कलाकारले विशेष कार्यक्रमको आयोजना गरि विशेषगरि राजनितीक दल र पार्टीका नेता कार्यकर्ता र तिनका गतिविधिप्रति व्यङ्ग्य गरेका छन् । वाक् स्वतन्त्रताको रूपमा समेत सदुपयोग हँुदै आएको गाईजात्रालाई प्रहसन, राजनीतिक, सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने पर्वका रूपमा समेत लिने गरिएको छ ।
यो पर्वमा कलाकारहरु राजनीतिक घोचपेच गर्ने, सामाजिक विषयवस्तु माथि तीखो व्यङ्ग्य प्रहारका कार्यक्रम गर्ने, व्यङ्ग्यले भरिएको अडियो, भिडियो प्रहसन निकाल्नेदेखि लेख रचना प्रकाशनसमेत गर्दछन् । गाइजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गर्यो । हाँस्यकलाकार दमन रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गर्नुभएको छ ।
उहाँले आफ्नो कमेडीमार्फत वृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिनुभएको छ । सामाजिक व्यङ्ग्यबाट सुरु भएको व्यङ्ग्य कार्यक्रममा अहिले जताततै राजनीति प्रति र नेतृत्वमाथि नै व्यङ्ग्य हुने गरेका छन् । अर्का हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले देशमा भइरहेको भ्रष्टाचार र सुशासनबारे नेतृत्वप्रति आफ्नो व्यङ्ग्य प्रस्तुत गर्नुभयो । उहाँले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । हाम्रो नेतृत्वले भारत र पाकिस्तानको युद्ध मिलाउन सक्ने भन्दै धाक लगाउने तर हमासले बन्दी गराएका विपिन जोशीलाई दुई बर्ष हुँदा पनि छुटाउन किन नसकेको भन्दै टिप्पणी गर्नुहुन्छ । उहाँ नेताको सति जान तयार रहेको भन्दै यसरी व्यङ्ग्य गर्नुहुन्छ ।
बर्षदिनमा एक दिन गाईजात्राको दिनमा मात्र व्यङ्ग्य गर्ने प्रचलन अहिले आएर सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट जसले जहिले पनि सबैलाई आलोचना र गाली गरिरहेका छन् । कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राख्नुहुन्छ । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरुलाई थाहा हुनुपर्ने उहाँको भनाइ छ ।
।राजनितीमा नेताको स्थायी शत्रु र मित्रु कोहि नहुँने भन्दै यो देशमा नेताहरु स्वार्थका कारण मिल्ने र भेडाहरु मात्र जुध्ने काम भईरहेको भन्दै व्यङ्ग् गर्नुभयो । वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाइजात्रामा रहेको बताउनुहुन्छ । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उहाँले बताउनुभयो । अहिले गाइजात्रा दैनिक रुपमा सडकमै भइरहेको उहाँको भनाई छ । गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश ।’भन्दै उहाँले आफ्नो प्रस्तुतिलाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गर्नुभयो ।
शासकलगायत धेरै पक्षको बारेमा जनमानसमा रहेको भावना बाहिर ल्याउनु जरुरी छ भनेर त्यति बेलाका राजा प्रताव मल्लले आफूलाई समेत गाली गर्न पाउने गरेर गाईजात्रा पर्वको सुरुवात गर्नुभयो र यो दिनमा वाक् स्वतन्त्रता दिनुभयो । त्यही परम्पराको निरन्तरताका लागि अहिले पनि गाईजात्रामा व्यङ्ग्य गर्ने गरिन्छ । यो एक दिन बोल्न छुट भएकाले सबैको विषयमा व्यङ्ग्य गर्न मिल्छ ।
कलाकार हिमेश पन्तले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुलना गर्दै अमेरीकाबाट ट्रम्पले मान्छे खेदिरहेको र नेपालबाट ओलीले खेद्ने गरेको भन्दै व्यङ्ग्य गर्नुभयो । आजका दिन गरिएको छेडछाड युक्त व्यङ्ग्यलाई सबैैले ठट्यौलीका रूपमा लिने गर्दछन् । अन्य बेला बोल्न नपाएका, भन्न नमिल्ने कुरा यो समय व्यङ्ग्यका माध्यमले प्रस्तुत गर्दा गाईजात्रा एक किसिमिले व्यङ्ग्यको पर्वको रूपमा समेत बिकसित भएको छ। हाम्रा केही सांस्कृति पर्व छन् । ती पवर्हरुमा पहिले जे चलिआएको छ । हामीले त्यसैलाई निरन्तरता दिइरेका छौँ ।
अहिले नेताले एकले अर्कामाथि दैनिक आरोप प्रत्यारोप गरिरहन्छन् । अझ भनौं जसलाई जे बोल्न पनि छुट जस्तै छ । चित्त नबुझेको कुरा मानिसहरु सामाजिक सञ्जालमार्फत राखिरहेका हुन्छन् । सबैले सबैलाई गाली गरेका छन् । त्यसैले अहिले बर्षैभरि नै जताततै गाईजात्रा छ भन्दा कुनै फरक पर्दैन ।