काठमाडौं । इरानको जेलबाट छुटेका पाँचजना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरू बिहीबार काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयको कूटनीतिक पहलपछि गएराति सकुशल नेपाल फर्किनुभएको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद छ,” परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा इरानको जेलमा रहेका पाँचजना नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा काठमाडौं ल्याइएको उल्लेख गरिएको छ ।
गत जुनमा इरान र इजरायलबीच युद्ध चर्केपछि इरानमा रहेका नेपालीलाई उद्धार गर्ने क्रममा जेलमा रहेका पाँच जनालाई पनि ल्याइएको हो । यसअघि, भारतले आफ्ना नागरिक इरानबाट उद्धार गर्दा त्यहाँ रहेका नौ नेपालीलाई पनि ल्याइदिएको थियो ।