काठमाडौँ । प्रहरीले सम्झाउँदा पनि मास्क लगाउन नमान्नेलाई कारवाही सुरु गर्ने तयारी थालेको छ । अहिले सम्म कसैलाई काहवाही नगरिएको भएपनि अब संक्रम समुदायमा फैलिएको कुरा चिकित्सकहरुले बताउनु थालेपछि कारवाही सुरुगर्न लागिएको हो ।
प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले मास्क लगाउन अटेरी गर्नेलाई पक्राउ गरेर कानुनी कारवाही थाल्ने जानकारी दिनुभएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम रोक्नका लागि मास्कको प्रयोग गर्नुपर्ने बताउँदै अटेरी गरे कारवाही गरिने उहाँको भनाई छ ।
शाहीका अनुसार काठमाडाँैंमा हालसम्म कसैलाई पक्राउ गरेर कारवाही नगरिएपनि दैनिक ५ हजार बढीलाई सम्झाई– बुझाइ गरिदै आएको छ । पहिले सम्झाउँने र मास्क लगाउन प्रेरित गर्ने तर अँटेरी गरे नियन्त्रणमा लिएर कारवाही सुरु गरिने छ । काठमाडौंबाहिर भने प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गर्न थालेको छ ।
शाहीले अटेरी गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने र प्रहरीमाथि नै दुर्व्यवहार गरे अभद्र व्यवहारमा पनि मुद्दा चलाइने बताउनुभयो । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएसँगै प्रहरी सक्रिय भएको हो ।
गृहले मास्कको प्रयोग गर्नुपर्ने नियम पालना नभएको भन्दै अनिवार्य प्रयोग गर्न, २ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको थियो ।