काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्माण सम्पन्न गर्ने गरी पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
साथै कलंकी–महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगायतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ । बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी–महाराजगञ्ज खण्डको स्तरोन्नतीका लागि बजेट व्यवस्थापन लगायत आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी दिनुभयो ।
बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन समेत दिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको बताउनुभयो ।
कलंकी–महाराजगञ्ज खण्डको केही स्थानमा सडक विस्तारका लागि मुआब्जाको विवादका कारण समस्या देखिएको उहाँ बताउनुभयो ।