Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वर्षासँगै देशभर विपद् पनि बढ्दै : हिमताल विस्फोटले रसुवामा बाढिको वितण्डा, के छ सरकारको तयारी ?(खासखबर)

वर्षासँगै देशभर विपद् पनि बढ्दै : हिमताल विस्फोटले रसुवामा बाढिको वितण्डा, के छ सरकारको तयारी ?(खासखबर)

  • बिहिवार, आषाढ २६ २०८२

  • 490
    SHARES

  • वर्षासँगै देशभर विपद् पनि बढ्दै : हिमताल विस्फोटले रसुवामा बाढिको वितण्डा, के छ सरकारको तयारी ?(खासखबर)
    काठमाडौं।  वर्खा लागेसँगै देशका विभिन्न स्थानमा विपदका घटनाले वितण्डा मच्चाउन सुरु गरेका छन्। यसवर्ष औसत समयभन्दा दुई साता पहिले नै नेपाल भित्रिएको मनसुनले सुरुमै पूर्वी नेपालमा वितण्डा मच्चाएको थियो भने यतिबेला रसुवामा वितण्डा मच्चायो। 
     
    चिनतर्फबाट हिमताल फुटेर यहि असार २४ गते रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा रातको समयमा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछी ठुलो धनजनको क्षति पुरायो। जुन अकस्मात र अकल्पनीय थियो जसको मौसम पूर्वानुमान महाशाखा तथा बाढी विभागले समेत कुनै पूर्वानुमान गर्न सकेको थिएन। 
     
    यतिबेला जल तथा मौसम विज्ञान विभागले गरेको अनुसन्धानले हिमताल विस्फोट भएर आएको बाढीले रसुवा क्षेत्रमा क्षति पुराएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभाग ’सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले‘सुप्राग्लेशियल’ताल फुट्दा बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको हो। 
     
    उक्त बाढीले ९ जनाको ज्यान गएको छ। तीमध्ये ४ जनाको शव र ५ वटा मानव अङ्गमात्र फेला परेको छ भने तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी २० जना अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ। जोखिममा रहेका १६५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पु¥याएको छ भने नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध छ भने अर्बौं बढीको क्षति भएको छ। 
     
    विज्ञ तथा अनुसन्धानकर्ताले यसलाई ‘अभूतपूर्व’ भनेका छन्। उनिहरुका अनुसार प्रारम्भिक अनुसन्धानबाट ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा बाढीको घटना हुनुअघि र घटना भइसकेपछि तालको क्षेत्रफलमा परिवर्तन भएको देखिन्छ। 
     
    जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले ‘स्याटलाइट’तस्वीरको अध्ययनबाट पनि तिब्बती क्षेत्रमा ल्हेन्दे खोलामा बनेको ’सुप्राग्लेशियल’ताल(हिमनदीको सतहमा मलबाले ढाकिएको क्षेत्रमा बन्ने जलाशय)विस्फोट हुँदा भोटेकोशीमा बाढी आएको देखिने बताउनुहुन्छ। 
     
    नेपाल विपदको उच्च जोखिममा छ। त्यसकारण विपद प्रतिकार्यका लागी विभिन्न उपायहरु अपनाउन जरुरी रहेको विज्ञहरुले जोड दिँदै आएका छन्, त्यसका लागी पूर्वसूचना प्रणाली मजबुत बनाउँदा क्षति कम हुने राष्ट्रिय विपद् जोखिम न्युनिकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टको जिकिर छ। 
     
    पूर्वसूचनाका लागि चीनसँगको सहकार्य नबढाउने हो भने नेपाल जतिबेला पनि दुर्घटनामा पर्न सक्नेतर्फ सचेत गराउँदै उहाँले अहिले नेपालमा कायम पूर्वसूचना प्रणालीले महत्वपूर्ण भुमिका निर्वाह गरेकोले यसलाई थप बिस्तार गर्नुपर्ने बताउनुहुन्छ। 
     
    यस्तै इन्जिनियर भट्टले यसपटक सरकार पनि प्रतिकार्यका लागी अलर्टमा रहेको बताउनुहुन्छ। गत वर्षको क्षतिबाट महत्वपूर्ण पाठ सिकेकोले त्यसलाई मध्यनजर गरेर अहिले प्राधिकरणले सबै सुरक्षा निकाय, निजी क्षेत्र, तिनै तहका सरकारलगायत सबैसँगको समन्वयमा सम्भावित क्षेत्रमा अलर्टमा रहेको उहाँको प्रतिक्रिया छ। 
     
    यसवर्ष विगतको तुलनमा बढी वर्षा हुने र क्षति पनि बढी हुने आँकलन विज्ञहरुसँगै मौसम विभागले पनि पूर्वानुमान गरिसकेको छ। त्यसलाई मध्यनजर गरेर देशभर सतर्क रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 
     
    मौसमविद् रोजन लामिछानेले यसवर्ष विगतको तुलनामा वर्षा र तापक्रम दुबै बढी हुने भएकोले देशैभर क्षति पनि धेरै हुने आँकलन गरिएको बताउनुभयो। लामिछानेका अनुसार यसपटक पहाडमा, भुक्षय, बाढीपहिरो, गेग्रान बहाब र तराईमा बाढी तथा डुवानको जोखिम भएकोले सतर्क रहन आह्वान गर्नुभयो। 
     
    अहिले पनि देशभर मनसुनी वायुको प्रभाव छ,जसकारण देशभर बदली तथा वर्षा भैरहेको छ। भने तापक्रम वृद्धिले हिमपहिरो तथा हिमताल विस्फोटका घटना भैरहेको छ। जसको कारण हो यतिबेला रसुवा र मुस्ताङमा २४ घण्टामा आएका दुई हिमनदीजन्य बाढी।
     
    विज्ञका अनुसार, नेपालमा पहिले साना र लुकेका तथा अस्तित्वमै नभएका तालहरूले अहिले ठूलो विनाश निम्त्याइरहेका छन्। नेपालमा प्रभाव पार्ने खतरनाक ताल नेपालमै २१, चीनको तिब्बतमा २५ र भारतमा एउटा छन्।
     
    तर हालका बाढीका घटना सुप्राग्लेसियल अर्थात् नयाँ बनेका हिमबाँध तालहरूको विस्फोटबाट भएको देखिन्छ। रसुवाको भोटेकोसी नदीमा मंगलबारको बाढी वा गतवर्ष सगरमाथा क्षेत्रको थामेमा भएको चट्टान खस्ने र मोरेन–बाँध ताल फुट्ने घटना यसका उदाहरण हुन्।
     
    यस्ता घटनाबाट सुरक्षित रहन र जोखिम न्यूनीकरणका निम्ति सरकारले हिमतालको नक्सांकन र अनुगमन प्रयास विस्तार, सम्भावित खतरनाक तालहरूको सूची अद्यावधिक, साना र अल्पकालीन सुप्राग्लेसियल तालहरूको सुक्ष्म विश्लेषण तथा ठुलो वर्षाले निम्तिने बाढी पहिरो, डुवान, गेग्रान बहाव, भुक्षयजस्ता घटनाले पुराउने क्षति न्युनिकरणका लागी पूर्वसूचना प्रणलिको विस्तार तथा विपद् प्रतिकार्य योजना अवलम्बन गरी अलर्टमा रहन जरुरी छ। 

     


    बिहिवार, आषाढ २६ २०८२०८:१७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij