काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आज बिहान एक्कासि आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको उक्त बाढीमा परि ३ जना प्रहरी र ६ जना चिनियाँ नागरिक सहित २० जना बेपत्ता छन्।
नेपाल र चिनको सिमा क्षेत्रमा पर्ने रसुवागढीमा ठुलो वर्षा नभएपनि लेन्दे नदि र भोटेकोसी नदिमा अकस्मात भिषण बाढी आएको उक्त बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ, भने विभिन्न स्थानमा ७ जनाको शव फेला परेको छ। केही व्यक्तिहरु घाइते पनि छन्।
नेपाली सेनाकाअनुसार तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिले रसुवागढी नाकामा रहेका करिब १२५ वटा गाडी बगाएको छ भने दर्जनौं गाडी पुरेको छ त सोही संख्यामै क्षति पनि पुराएको छ।
बाढिले दुई देश जोड्ने मितेरी पुल बगाएको छ, भन्सार यार्डमा क्षति पुराएको छ, धेरै घरहरु पनि क्षतविच्छेद भएका छन्, बाढीले हाइड्रो पावरमा क्षति हुँदा नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका ४ वटा जलविद्युत् आयोजनाको २५० मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ।
यसरी अकस्मात आएको बाढीले ठुलो धनजनको क्षति भएपछी मौसम विज्ञान विभाग अन्तर्गत बाढि पूर्वानुमान महाशाखाले भने ठुलो वर्षाविनै बाढी आएको र उक्त बाढी अहिलेसम्मकै ठुलो बाढी बताएको छ। सरकारकै निकाय रहेको महाशाखाले नेपालतर्फ वर्षाको कुनै सम्भावना नरहेको पूर्वानुमान रहेको अवस्थामा चिनबाट पनि कुनै पूर्वानुमानको सुचना नआउँदा बाढीले ठुलो क्षति पुराएको दाबी गरेको छ।
विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले यो वाढी वर्षाका कारण नभै अन्यकारणले आएको बताउनुहुन्छ। चीन या नेपालको क्षेत्रमा पर्ने कुनैपनि हिमताल एक्कासी फुटेर बाढी गएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो।
पराजुलीले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आँकलनका लागि एशिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया(सेन्टिनल एशिया)प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्वीर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरिएको बताउनुभयो । तर चिनबाट बाढीको पूर्वसुचना प्राप्त गर्न नसक्दा ठुलो क्षति हुन पुगेको उहाँको जिकिर छ।
यसरी अकस्मात आएको बाढीले ठुलो धनजनको क्षति भएपछी आज प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, तिनवटै सुरक्षा निकायका प्रमुखहरु लगायतले बाढिग्रस्त क्षेत्रको अवलोकन समेत गर्नुभएको छ। भने संसदमा पनि सांसदहरुले अकस्मात आएको बाढीले ठुलो धनजनको क्षति भएकोले यसको विपद् प्रतिकार्य योजनामा केन्द्रत हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
संसदको आकस्मिक समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बाढीले ठुलो धनजनको क्षति पुराएकोले राज्यका सबै निकायलाई परिचालन गरी उद्दार, राहत र पुनस्थापनामा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले रसुवागढीमा बाढीले पुराएको क्षति र नोक्सानीप्रति तत्काल आवश्यक कदम चाल्न र भुमिका निर्वाह गर्न सरकारको ध्यानाकर्ष गराउनुभयो।
यस्तै सत्तारुढ दल नेकपा एमालेका सांसद इश्वर बहादुर रिजालले यसवर्ष मनसुन सुरु हुनासाथ रसुवामा ठुलो क्षति बेहोर्नुपरेको र यो वर्ष धेरै वर्षा र क्षतिको जोखिम रहेकोले आवश्यक पूर्वतयारीमा जुट्न आह्वान गर्नुभयो। उहाँले जोखिममा भएका बस्ती व्यवस्थापनमा पनि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
यस्तै स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले पनि रसुवा बाढीले पुराएको क्षतिप्रति दुख व्यक्त गर्दै यसवर्ष बढी वर्षा हुने र ठुलो धनजनको क्षति हुने पूर्वानुमान रहेकोले अन्य काम छाडेर सरकार यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। विपदमा पक्ष विपक्ष नभनि सबै मिलेर प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिँदै उहाँले सरकारलाई उद्दार र राहत संगै अगाडी बढाउन आग्रह गर्नुभयो।
भनिन्छ कुनै पनि विपद बाजा बजाएर वा जानकारी दिएर आउँदै अर्थात जुनकुनै समय र जुनकुनै ठाउँमा आउन सक्छ त्यसको लागी सबै आवश्यक पूर्वतयारीमा रहनुपर्छ। आज रसुवामा आएको बाढी र पुगेको क्षति त्यसकै रुप हो।
आजमात्रै नुवाकोटको त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रले पनि जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको देखाएकोले त्रिशूली नदीको तटीय क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आह्वान गरिएको छ। भने अन्य नदिका तटिय क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ।
यसवर्ष विगतको तुलनामा बढी वर्षा हुने र ठुलो धनजनको क्षति हुने मौसमविदहरुको पूर्वानुमान छ। तसर्थ सरकारले आजैदेखी विपद प्रतिकार्यमा जुट्न आवश्यक छ। भने हामी आम सर्वसाधरण पनि सचेत र सतर्क रहन जरुरी छ।