काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा एकजनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल गुल्मीमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् ।
घाइते भएकी २८ वर्षीया सरस्वती दर्लामीको उपचार भइरहेको छ ।
यसैबीच, नेपाली कांग्रेसका युवा नेता तथा गुल्मीका पूर्वसांसद चन्द्र भण्डारीले जिप दुर्घटनाको खबरले आफू दुःखी भएको बताउनुभएको छ ।
‘पुनः गुल्मीको इस्मामा जिप दुर्घटना भएको छ । त्यस घटनामा परी ६ जनाले ज्यान गुमाएको खवरले दुःखी बनाएको छ साथै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि !’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘साथै सोही घटनामा घाइते हुनु भएका सरस्वती दर्लामी, कमल हितानको स्वास्थ्यलाभको कामना गर्दछु र दुर्घटनाका कारण पत्ता लगाइ दुर्घटनालाई न्यून गर्न सरकारसँग आग्रह गर्दछु ।’