Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कसरी सुधारियो एसईईको नतिजा ? जस लिने सरकारको दाउ, विज्ञहरु भने सशंकित (खासखबर)

कसरी सुधारियो एसईईको नतिजा ? जस लिने सरकारको दाउ, विज्ञहरु भने सशंकित (खासखबर)

  • शनिवार, आषाढ १४ २०८२

  • 574
    SHARES

  • कसरी सुधारियो एसईईको नतिजा ? जस लिने सरकारको दाउ, विज्ञहरु भने सशंकित (खासखबर)

    काठमाडौं। अघिल्लो वर्ष आधा विद्यार्थी पनि पास हुन नसकेको माध्यमिक शिक्षा परिक्षा एसईईमा यसवर्ष उल्लेख्य सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले हिजो साँझ प्रकाशन गरेको नतिजाअनुसार गतवर्ष ४७.८७ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएकोमा यसवर्ष १३.९४ प्रतिशत बढी अर्थात ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    यसवर्ष गत चैत ७–१९ गतेसम्म परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका नतिजाले देखाउँछ। नतिजाअनुसार गतवर्ष १८६ जनाले मात्रै जीपीए ४ ल्याएकोमा यो वर्ष ९७१ जनाले ल्याएका परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो।

    उहाँका अनुसार यसवर्ष सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन्।बागमतीबाट १ लाख १९ हजार ५१७ जना विद्यार्थी पास हुँदा कर्णालीबाट ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भए।

    त्यसैगरी कोशीबाट ४७ हजार ८३५, मधेसबाट ५९ हजार ७४९,गण्डकीबाट ४७ हजार ८४९, लुम्बिनीबाट ९७ हजार ६८७ जना र सुदूरपश्चिममा ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भए।

    योवर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.१९ प्रतिशत विद्यार्थीहरूले ‘ननग्रेडेड’ भएका छन्। त्यसमा पनि गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका शर्माको भनाई छ। समग्रमा यसवर्षको नतिजा सुधारोन्मुख रहेको शर्माले बताउनुभयो ।

    तर वर्षदिनमै एसईईको नतिजामा आएको उल्लेखनीय प्रगतिप्रति आशंका पनि उब्जिएको छ। नतिजा सुधारिनुमा सिकाइमा सुधार गरियो? या परीक्षा प्रणाली कमजोर पारियो? भन्ने गम्भिर प्रश्न जन्मिएको विज्ञहरुको टिप्पणी छ।

    शिक्षाविद् विद्यानाथ कोइरालाले अहिले सिकाइको गुणस्तर सुधार भएरै एकाएक नतिजाको पनि सुधार भएको भन्ने विश्वास गर्न सक्ने आधार नरहेको बताउनुहुन्छ। रातारात नतिजामा उल्लेखीय सुधार आएर ४८ बाट ६२ प्रतिशतमा पुगेकोमा प्रश्न र आशंका देखिएको भन्दै उहाँले कृपामा अंक थपियो कि विद्यार्थीकै क्षमता बढाएर पास गराइयो ? भन्ने प्रश्न गर्नुभयो।

    वर्षदिनभरी पढेका विद्यार्थीहरु फेल हुनै नपाउने भन्दै उहाँले यसतर्फ सरकार, शिक्षक, विद्यालय केही पनि चिन्तनशिल नभएको तथा चिन्ता नै नगरेको बताउनुभयो।

    तर सरकारले भने शिक्षक, विद्यार्थीसँगै सरकारले पनि उल्लेख्य मेहनत गरेकोले यसवर्ष नतिजा सुधारिएको दाबी गरेको छ। स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष गतवर्षको भन्दा मात्रै नभएर धेरै वर्ष यताकै नतिजामा वृद्धि भएकोले यो खुसीको अवसर भएको दाबी गर्दै नतिजा सुधारमा जस लिने प्रयत्न गर्नुभयो।

    मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई पनि अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने र अपमान गर्नेगरी केही मानिसहरूले बिना आधार हचुवाका भरमा अंक थपेर पास गराइयो भन्ने टिप्पणी गरेको भन्दै आक्रोश पोख्नुभयो। ‘हामी के मेहनत गरेर आफ्नो स्तर उठाउन सक्दैनौँ? अंकमा खेलवाड गर्नुपर्छ?’ भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो।

    तर, शिक्षाविद कोइरालाले भने प्रधानमन्त्रीले जे दाबी गरेपनि अहिले गुणस्तर बढेर नतिजा सुधार भएको भन्ने आधार नै नरहेको दाबी गर्नुहुन्छ। उहाँले नतिजामा अंक बढेपनि विद्यार्थीको क्षमता बढ्यो कि बढेन? भन्ने प्रश्न गर्नुभयो।

    सरकारले नतिजा सुधारभन्दा सिकाइ र क्षमता सुधारमा ध्यान दिनुपर्ने र त्यसका लागी शिक्षकहरुलाई राजनैतिक संघ संगठनभन्दा विद्यार्थीको क्षमता वृद्धिसँगै व्यवहारिक र नतिजामुखी सिकाईमा केन्द्रीत गरी फेल नै नहुने सिकाइमा जोड दिनुपर्ने बताउनुभयो।

    एसईई परीक्षामा ग्रेड प्राप्तसहित उत्तीर्ण हुन प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ। एसईईमा अनुत्तीर्ण विद्यार्थीको पूरक परीक्षा २९ साउनदेखि हुनेछ  भने नतिजा चित्त नबुझे पुनर्योग र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पाइने व्यवस्था छ।

    खासगरी पछिल्ला केही वर्षदेखी नेपालको शैक्षिक पद्धति व्यवहारिक र समयानुकुल हुन नसक्दा नतिजा पनि खस्किँदो र उच्च शिक्षा अध्ययनको बाहनामा वैदेशीक पलायन बढ्दै गैरहेको टिप्पणी हुन थालेको छ।

    यसपटकसमेत केही सुधारिएको नतिजा देखिएपनि यसको गुणस्तर, विद्यार्थीको क्षमता, व्यबहारिकता, समयानुकुलता,यसको परिणामसँगै यसपछी विद्यार्थीको भविश्यलगायलाई हेरेर प्रसश्त प्रश्न उठेका छन्।

    तसर्थ अब सरकार विद्यार्थीको नतिजा सुधारमा हौसिनु भन्दा समयानुकुल र व्यबहारिक शैक्षिक पद्धति अंगिकार गरेर बढ्दो विद्यार्थी तथा युवा पलायन रोक्नतर्फ केन्द्रीत हुन जरुरी देखिन्छ।


    शनिवार, आषाढ १४ २०८२०८:२०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij