काठमाडौं । बरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले कानुन निर्माण गरेर मात्रै नहुने बताउनुभएको छ । प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव नहुने बताउँदै उहाँले कानुनका शब्दहरूलाई व्यवहारमा उतार्न समाजका सबै तहबाट आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।
शनिबार काठमाडौंमा एनएएलसीद्वारा आयोजित 'Feminist Voice in Law: A Conversation with Meera Dhungana' शीर्षकको विशेष कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अधिवक्ता ढुङ्गानाले महिलामाथि भइरहेका आधुनिक प्रकारका हिंसा, सामाजिक संरचना र न्यायिक प्रणालीभित्रको लैङ्गिक असमानताका विषयमा बोल्दै यी विषयमा जिम्मेवार भएर काम लर्ग आवश्यक रहेको बताउनुभयो ।
“आजको दिनमा हिंसा केवल शारीरिक वा देखिने रूपमा मात्र हुँदैन। मानसिक, आर्थिक, साइबर वा सामाजिक बहिष्करणका रूपमा पनि महिलामाथि हिंसा भइरहेको छ । जुन प्रायः कानुनी रूपमा सम्बोधन हुन सकिरहेको छैन ।’’ उहाँले भन्नुभयो ।
कार्यक्रममा उहाँले सामाजिक खाल्डो र न्याय प्रणालीबीचको दूरीको समेत चर्चा गर्दै समाज परिवर्तनका लागि व्यक्तिगत तथा सामूहिक प्रयासको खाँचो औंल्याउनुभयो ।
कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा न्यायालयमा कार्यरत महिला कर्मचारी, कानुन विद्यार्थी, महिला अधिकारकर्मी र कानुन व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आगामी दिनमा गरिने यस्ता प्रकारका संवादले महिला अधिकार, न्याय र कानुनी पहुँचका विषयमा नयाँ दृष्टिकोण स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।