काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका– ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाको सनाखत हुन सकेको छैन । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।