काठमाडौं। नेपालमा यसवर्ष मनसुनजन्य विपद्बाट २० लाख सर्वसाधरण प्रभावित हुने अनुमान गरिएको छ । सरदरभन्दा १५ दिन पहिलै पूर्वी नेपालबाट भित्रिएको मनसुनका कारण बाढी पहिरोबाट २० लाख मानिस प्रभावित हुने र ठुलो धनजनको क्षति हुने पूर्वानुमान गरिएको हो।
गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा पनि ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदरभन्दा बढी वर्षा हुने यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान छ। अघिल्लो हप्ता पूर्वबाट नेपाल भित्रिएको मनसुन देशभर नफैलिँदै पारेको वर्षाले बाढी आउँदा झापामा २२ घर डुबानमा परेका थिए भने धरान–धनकुटा सडकखण्डमा ठुलो क्षति पुराएको थियो।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि बढी नै हुने आंकलन सार्वजनिक गरिसकेको छ।
विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने त्यो पनि दिनको समयमा भन्दा रातको समयमा बढी हुने आँकलन गरिएको जानकारी दिनुभयो। उहाँले यसपटक प्री मनसुनमा पनि औसतभन्दा बढी पानि परिसकेकोले जमिन बढी नै गलिसकेको बताउँदै सामान्य पानि पर्नासाथ ठुलो पहिरो जाने जोखिम रहेको बताउनुभयो।
जल तथा मौसम विज्ञान विभागले यस्तो चेतावनी दिएसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने आवश्यकता औल्याएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार प्राधिकरणको कार्ययोजनामा यसवर्षको मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ।
त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने र ठुलो धनजनको क्षति हुने देखिएकोले त्यसको व्यवस्थापन र विपद जोखिम न्यूनीकरणका लागि मनसुन सुरू हुनेबित्तिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय बनाउँदै आवश्यक पूर्वतयारी थालिएको बताउनुभयो।
यसपटक कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहने अनुमान छ। सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग,गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
विगतको तुलनामा यसवर्ष वर्षाले ठुलो धनजनको क्षति हुने आंकलन गरिएसँगै गृहमन्त्री रमेश लेखकले पनि आवश्यक पूर्वतयारी अपनाइएको जानकारी दिनुभएको छ। विपद् जोखिम न्युनीकरणको पूर्वतयारीका लागि विभिन्न गैरसकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्र जसले विपद्को जोखिमलाई न्युनीकरण र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्छ सबैसँग छलफल गरी हातेमालो गरेर अगाडी बढ्न सबैलाई आह्वान समेत गर्नुभयो।
नेपालले हरेक वर्ष मनसुनी समयमा बढी क्षति बेहोर्दै आएको छ। ठुलो विपद् र क्षतिको आँकलन र चेतावनी जारी भएपनि सरकारले आवश्यक पूर्वतयारी अपनाउन नसक्दा हरेक वर्ष ठुलो धनजनको क्षति हुँदै आएको छ, भने हरेक पटक विपदको व्यवस्थापन र पूर्वतयारीमा सरकार चुकिरहेको आरोपसमेत लाग्दै आएको छ।
तसर्थ यसपटकको मनसुनमा पनि सरदरभन्दा बढी वर्षा बढी हुने र २० औं लाख सर्वसाधरण प्रभावित तथा ठुलो धनजनको क्षति हुने आँकलन गरिएकोले सरकारले आवश्यक पूर्वतयारी अपनाउन जरुरी छ।त्यसकारण आजैदेखी आवश्यक स्रोत साधनसँगै पूर्वाधार व्यवस्थापन गरी सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा राख्न आवश्यक देखिन्छ।