Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

  • बुधवार, मंसिर १० २०७७

  • 1.8K
    SHARES

  • विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

    काठमाडौँ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई दिने भएको छ ।

    प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठका अध्यक्षतामा मङ्गलबार बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको हो ।

    रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पु¥याएवापत उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष समेत रहेका तानसेन नगरपालिका वडा नं. १०, मदनपोखराका स्थानीय बासिन्दा अर्याललाई कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो । उपयुक्त समयमा कसजुको गृहजिल्ला पाल्पामै समारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको हो ।

    प्रतिष्ठानले कसजुको विशेष योगदान रहेका बालबाहित्य, सूचनाको हक र सूचना प्रविधिको प्रयोगका क्षेत्रमा विशिष्ट योगदान गर्नेलाई पनि सम्मान गर्ने, अध्ययनअनुसन्धान गर्ने, विभिन्न सामग्री प्रकाशन गर्नेलगायत योजना बनाएको छ ।

    विक्रम संवत् २००४ मा पाल्पाको तानसेनमा जन्मिनुभएका कसजुका बालसाहित्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन् । गाउँले जनजीवनका लागि उपयोगी ‘देउराली’ पत्रिका निकालेर कसजुले नेपालमा ग्रामीण पत्रिकाको शुरुआत गर्नुभएको थियो ।

    गत वर्ष आजकै दिन दिवङ्गत ग्रामीण पत्रकारिताका अगुवा, सहित्यकार एवं पहिलो प्रमुख सूचना आयुक्त कसजुको स्मृतिमा केही महिना अगाडि प्रतिष्ठान स्थापना भएको थियो ।

    उहाँको निधनको ४५औँ दिनका पुण्यतिथिमा पाल्पाली सङ्गम काठमाडौँले श्रद्धाञ्जलिसभा आयोजना गरेर प्रतिष्ठान गठन गर्ने घोषणा गरेको थियो ।

    पाँच सदस्यीय कार्यसमिति रहेको प्रतिष्ठानको कोषाध्यक्षमा स्वर्गिय कसजुका छोरा अभिनव कसजु र सदस्यहरुमा साहित्यकार मन्जु ज्ञवाली र पत्रकार शैलज नेपाल हुनुहुन्छ ।

    प्रतिष्ठानले स्वर्गिय कसजुकी श्रीमती गंगा कसजु र पाल्पाली संगम, काठमाडौँका अध्यक्ष पदम न्यौपानेलाई संरक्षकमा मनोनयन गरेको छ ।

     


    बुधवार, मंसिर १० २०७७०४:३७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij