काठमाडौं । नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिनुभयो ।
उहाँले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको दाबी गर्नुभएको छ । नवनियुक्त मन्त्रीलाई भेटेर सुभकामना दिने तयारी भएपनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको बताउनुभयो । यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेको थियो । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गर्नुभएको थियो ।
उहाँले संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समस्याको समाधान खोजिने बताउँदै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकको माग सम्बोधन गरी उनीहरुलाई विद्यालय फर्काउने वातावरण तयार गर्न अन्तरिम आदेश दिएपछि सरकार दबाबमा परेको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले तीन साताभन्दा बढी समयदेखि राजधानीमा आन्दोलन गर्दै आएका छन् ।