काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ ।
मंगलबार बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
संक्रमणको जोखिम मूल्याङ्कन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले जानकारी दिनुभयो ।
‘‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ’’, उहाँले भन्नुभयो ।
विभिन्न सरकारी कार्यालयहरुमा एक–दुई जनामा संक्रमण पोजेटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमितहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के–कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । पछिल्लोसमय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।
यद्यपि, सिसिएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । संक्रमणको उच्च रहेका सीमित स्थानलाई सिलगरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईँले बताउनुभयो ।