काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा चट्याङका कारण ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् ।
झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो । त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । उता धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
यस्तै डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ, भने २ जना बालिका घाइते भएका छन् ।
गएरातिबाट आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका–६ मा लेदो सहितको पानीको कारण एउटा घरमा क्षति पुगेको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला स्थित राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ । विपद्मा परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
यसैबिच हिजो साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएपछी सडक यातायात प्रभावित भएको छ। बाढीपहिरोका कारण अवरुद्ध बनेका केही स्थानमा सडक खुलेपनि कतिपय स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ। नेपाल प्रहरीका अनुसार एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएका सडकमा पूर्णरुपमा सञ्चालनमा ल्याउने प्रयास जारी रहेको छ।