महोत्तरी । ६ वर्षीया बालिकाको हत्याको विरोधमा बर्दिबासमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव गयराति हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।
आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ ।