काठमाडौ। संघीय संसद सचिवालयले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको प्रेस पास एक महिनाका लागि निलम्बन गरेकोप्रति अनलाइन टिभी पत्रकार संघले गम्भीर आपत्ति जनाएको छ ।संसद सचिवालय जस्तो निकायबाट यस्तो अलोकतान्त्रिक र गलत कार्य हुनु थप चिन्ताको विषय भएको सङ्घको ठम्याई छ।
संघका महासचिव पवन फुयालद्वारा जारी विज्ञप्तिमा संसद सचिवालयको यो कदम प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको उल्लेख गरिएको छ। “प्रश्न सोध्न पाउनु लोकतन्त्रको आधारभूत अधिकार हो। प्रश्नहरू कठोर, तीतो वा असह्य हुनसक्छन । प्रश्नहरूलाई निषेध गर्ने प्रवृत्ति तानाशाहीको संकेत हो।,” विज्ञप्तिमा भनिएको छ।
संघले संसद सचिवालयको निर्णयलाई तत्काल फिर्ता लिन जोडदार माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
संघका अध्यक्ष जीवन भण्डारीले सरकारको प्रभावमा परेर संसद सचिवालयले गरेको निर्णयले नै सरकार तानाशाही हुँदै गरेको र हिटलर पथमा लागेको पुष्टि भएको टिप्पणी गर्नुभएको छ।
उहाँले संसद सचिवालयबाट यस्तो कार्य हुनु थप चिन्ताको विषय भएको समेत उल्लेख गर्नुभएको छ।यसअघि, संसद सचिवालयले पत्रकार श्रेष्ठ र ओलीको प्रेस पास निलम्बन गरेको जनाएको थियो।
उनीहरूले यही फागुन ४ गते संसद भवनबाट निस्कँदै गर्दा प्रधानमन्त्री केपी ओलीलाई सरकार हिटलर पथमा लागेको भन्ने आरोप छ नि भन्ने प्रश्न गरेका थिए। त्यसैका आधारमा संसद सचिवालयले उनीहरूको प्रेसपास निलम्बन गरेको बताएको छ।
यस कदमलाई अनलाइन टिभी पत्रकार संघसहित पत्रकार तथा सञ्चारकर्मी र अधिकारकर्मीहरूका विभिन्न संगठनहरूले यस घटनाको विरोध जनाइरहेका छन्।