Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार

हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार

  • आइतवार, फाल्गुण १८ २०८१

  • 473
    SHARES

  • हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार

    काठमाडौं । हिमपातका कारण रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ।

    शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गरिएको हो। रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ।

    हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र परेका थिए।

    रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले बताइन्। त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूको भनाई छ।

    शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

    रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बागलुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको थियो।

    हिउँ पन्छाएपछि काठमाडौँका लागि रुकुमबाट छुटेका बस र रुकुमबाट काठमाडौँका लागि छुटेका बसलाई वारपार गराइएको छ। साथै दर्जन बढी साना गाडीलाई पनि वारपार गराइएको रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिए।

    हिउँमा फसेका यात्रुको उद्धारपश्चात रातिको समयमा उक्त सडक भएर बस नचलाउन भनिएको छ।

    आइतबार बिहान मध्यपहाडी लोकमार्गको यो खण्डको अवस्था हेरेर मात्र यातायातका साधन सञ्चालन गर्ने वा नगर्ने भनेर जानकारी गराइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। रुकुमपूर्व र बागलुङ सिमानामा बर्सेनि हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने गरेको छ। रासस


    आइतवार, फाल्गुण १८ २०८१०८:२८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij