काठमाडौं । नेपालमा सञ्चालन भइरहेका अनलाइन टेलिभिजनहरुलाई कम्पनीको रुपमा दर्ता भएर काम गर्न विज्ञहरुले सुझाब दिनुभएको छ । उहाँहरुले दर्शक तथा राज्यप्रति जवाफदेही तथा जिम्मेवार बन्न कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भए पर्याप्त हुने बताउनु भएको हो ।
विश्व टेलिभिजन दिवसको अवसरमा अनलाइन टेलिभिजन पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँहरुले सूचना विभागका पनि दर्ता गर्न आवश्यक नभएको तर्क गर्नुभयो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले मिडियालाई धेरैतिर दर्ता गर्दा अंकुश लगाउने सम्भावना बढी हुने भएकाले रेकर्डका लागि कम्पनीको रुपमा दर्ता भए पुग्ने बताउनुभयो । अहिले केही विक्रृति देखिँदैमा आत्तिएर नियन्त्रणको पक्षमा उभिनु आत्मघाती हुने धारणा राख्नुभयो ।
“सञ्चार माध्यम नियन्त्रण हैन नियमन हुनुपर्छ,” उहाँले भन्नुभयो ।
अष्ट्रेलियामा अध्यापनरत सञ्चारविज्ञ डा. भरतराज पौडेलले अबको केही समय अनलाइन टेलिभिजन जस्ता सञ्चारमाध्यमहरुको दबदबा हुने विभिन्न अध्ययनले देखाएकाले यसलाई अहिलेदेखि नै व्यवस्थित गरेर लैजानु पर्नेमा जोड दिनुभयो । अष्ट्रेलियामा अनलाइन टिभी पोर्टलहरू पनि पारदर्शिता र करको प्रयोजनका लागि व्यवसायका रूपमा दर्ता हुने गरेको र केही नेपाली अनलाइन टिभी पनि त्यसैको उदाहरण भएको पौडेलले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका प्राध्यापक तथा पत्रकार जगत नेपालले पनि सञ्चारमाध्यमलाई राज्यको कुनै न कुनै निकायमा जोड्नुपर्ने तर स्वनियमनमा जोड दिनुपर्ने बताउनुभयो ।
सञ्चारमाध्यमहरुलाई भिडियो सेवा उपलब्ध गराउँदै आएको न्युज एजेन्सी नेपालका कार्यकारी निर्देशक सविन धमलाले सूचना विभागमा दर्ता आवश्यक नभएको धारणा राख्नुभयो । तर अहिले जस्तो छाडा छोडिरहन भने नहुनेमा उहाँको जोड छ ।
“इन्टरनेटमा राखेको कन्टेन्ट त नेपालमा मात्र होइन संसारभरी नै हेर्न सकिन्छ, सूचना विभागमा दर्ता गरेर विभागले गर्ने नियमनको कुनै औचित्य हँुदैन, त्यसैले आफैं जिम्मेवार हुने वातावरण बनाउनु उपयुक्त हुन्छ,” धमलाले भन्नुभयो ।
चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीले भ्युजको पछि लाग्ने युट्युव सञ्चालक र मिडियाको भूमिका नबुझ्ने सेलिब्रेटीका कारण अनलाइन टिभीहरु बद्नाम भएको अनुभव सुनाउनुभयो । उहाँले अनलाइन टिभी सञ्चालकहरुलाई सम्पर्कमा राख्नुपर्ने र प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अन्य केही विज्ञसँगै विभिन्न अनलाइन टिभी सञ्चालक र संघका पदाधिकारीहरु सहभागी भएका थिए ।
गत वर्षको माघमा पहिलो राष्ट्रिय भेलामार्फत गठन भइ दर्ता भएको अनलाइन टिभी संघले अहिले स्वनियमन निर्देशिका बनाउने, अनलाइन टिभीको क्षेत्रमा अध्ययन तथा सर्वेक्षण गर्ने, सदस्यता मापदण्ड बनाउनेलगायतका दर्जनभन्दा बढी कार्य गरिरहेको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।