काठमाडौं। पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ। सहारा क्लब आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको उपाधिका लागी आज नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन् ।
विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिमको पहिलोपल्टको सहभागिता हो । खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने छ ।
ब्ल्याक बुल्सले क्वाटरफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड क्लब, सिक्किमलाई ३–० ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो । दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको थियो । साविक विजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता थ्रिस्टार उपाधि होडबाट बाहिरिएका हुन् ।
हिजो भएको प्रि–म्याच कम्फ्ररेन्समा दुवै टिमले फाइनल आफूले जित्ने दाबी गरे । उनीहरु खेल जितेर इतिहास रच्न चाहन्छन् । प्रतियोगीताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीलाई विधागत पुरस्कारसमेत प्रदान गरिने छ।