काठमाडौं । नेपालमा पछिल्लो पटक थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरामा तीन, रुपन्देहीमा २ विराटनगर र धरानमा एक–एक जना गरी ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको आज मृत्यु भएको गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताउनभुयो । उनमा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
डा. शर्माका अनुसार फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको आज नै मृत्यु भएको हो । उनीमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गएराति मृत्यु भएको डा. शर्माले बताउनुभयो । उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।