काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि भालिदेखि देशव्यापी एचपिभी खोप अभियान सञ्चालन हुदैछ ।
सरकारले भोलि माघ २२ गते मंगलबारदेखि आगामी फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो । यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो । खोप अभियानको सम्पुर्ण तयारी पूरा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीलाई एचपिभी खोप दिने सरकारको लक्ष्य छ ।
पाठेघरको मुखको क्यान्सर नेपालमा पनि भयावह अवस्थामा रहेकाले निवारण गर्ने उद्देश्यका साथ यो खोप अभियान सञ्चालन गर्न लागेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतम बताउनुहुन्छ ।
एचपिभी खोप सबै स्थानीय तहमा पु¥याइसकिएको र स्वास्थ्यकर्मीलाई पनि पूर्ण तालिम दिइसकिएको छ । यसअघि सात संघीय अस्पतालमा नमूना कार्यक्रमको रूपमा करिब १० हजार किशोरीलाई खोप दिइएको थियो । चिकित्सकहरुका अनुसार सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्छ ।
विद्यालयमा अध्ययनरत बालिकाका हकमा विद्यालयभित्रै र बाहिरकालाई स्वास्थ्य केन्द्र र नजिकका खोप केन्द्रमार्फत खोप दिने गरी तयारी भएको छ । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार ९० प्रतिशत खोप केन्द्र विद्यालयमा र १० प्रतिशत खोप केन्द्र बाहिर छन् । कुनै कारणवश खोप लिन छुटेकाहरूका हकमा सम्बन्धित ठाउँमै पुगेर पनि खोप दिने गरी व्यवस्था मिलाइने डा. गौतमले जानकारी दिनुभयो ।
एचपिभी खोपले ह्युमन प्यामिलोमा भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ९० देखी ९५ प्रतिशतले न्यून हुने चिकित्सकहरु बताउँछन् । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुहुन्छ ।
उहाँका अनुसार “१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी खोप निकै नै प्रभावकारी हुन्छ ।” नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुनुका साथै चार जनाको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।
डा.रिजालका अनुसार महिनावारी भएको समयमा पनि एचपिभी खोप लगाउन मिल्छ । यो खोपले महिनावारीलाई कुनै असर नगर्ने डा.रिजाल बताउनुहुन्छ । यो खोपले बाँझोपन नगराउने डा.रिजालको भनाइ छ । खोप लगाएपछि बाँझोपन हुन्छ र अन्य गम्भीर असर हुन्छन् भन्ने भ्रम र अफवाह मात्र भएको उहाँको भनाई छ ।
साधारणतया यो खोप लगाएपछि न्यून मात्रामा मात्रै असरहरु देखिने गर्छन् । यो खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्कसँग लगाउन डा.रिजालको आग्रह छ ।
विभिन्न अध्ययनका अनुसार १० देखी १४ वर्ष उमेरसमुहका किशोरीहरुलाई यो खोप प्रभावकारी हुने भएपछि उक्त उमेर समुहलाई एचपिभी खोप दिन लागिएको हो । यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउँदा बढी प्रभावकारी हुने भएकोले पनि १० देखी १४ वर्ष उमेर छनोट गरिएको हो ।
सरकारले यो वर्षदेखि एचपिभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र १० वर्षका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल एचपिभी खोप लगाउन आव्हान गर्नुहुन्छ । एचपिभी खोप नेपालमा प्रयोग गर्नका लागि औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त हुनुका साथै, विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो ।
राष्ट्रिय खोप सल्लाहकार समितीको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो । यो खोप ९८ देखि १ सय प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । गत वर्ष सरकारले दिएको खोप लिएकाहरूले भने यो खोप दोहो¥याउनुपर्दैन ।