काठमाडौं । तराइबासीले विषेश महत्व र आस्थाका साथ मनाउने छठ पर्वको आज दोस्रो दिन मनाइदै छ । कुल चार दिन मनाइने यो पर्व यस बर्ष हिजो शुरु भएको हो । हिजो सरसफाइ र शुद्ध भइ शुरु भएको ब्रत पर्सी सकिने छ । हिजो शुरुको दिन ‘नहायखाय’ विधिअन्तर्गत व्रतालुले स्नान गररेपछि आफैंले पकाएको सात्विक भोजन गरेका छन् । नहायखायको दिन लौकाको तरकारीसँग भात खाने चलन छ ।
आज साँझ सक्खरमा पकाएको खीर र रोटी खाएर उनीहरू भोली दिनभरि भोकै बसी साँझ घर नजिकको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन । पर्सी शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पुनः घाटमा पूजाअर्चना गरेर छठ पर्व सकिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले छठ पर्व सूर्य आराधना गरेर मनाइन्छ । छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठीमइया भनेर पूजा पनि भनिन्छ ।
जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यो पर्व आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि मनाउँछन । दलित र गैरदलित एउटै थलोमा बसेर श्रद्धापूर्वक यो पर्व मान्ने भएकाले पनि यसलाई समानता र समावेशीताको पर्वको रुपमा समेत व्याख्या गर्ने गरेको पाईन्छ । यस बर्ष कोरोना कहरबीच पनि छठ पर्वको उत्साह र उमंग तराईमा पर्याप्त देखिएको छ ।
पर्व मनाउने क्रममा कोरोना भाइरसको सङ्क्रमण थप फैलिने खतरा लेखेर प्रदेश २ का आठै जिल्लाका प्रशासन कार्यालयले छठ पर्व सकभर घरमै मनाउन अपिल गरेका छन् । घरबाट तयारी गरेर नजिकका खोला र पोखरीमा सूर्यलाई अर्घ दिएर मानिने पर्व भएकाले व्रतालु र तिनका परिवारको घरमै छठ मान्ने आग्रहलाई वेवास्ता गरेका छन् ।
भिडभाडका साथ छठ पर्वको तयारी भइरहेको देखे पनि प्रहरी–प्रशासनले रोकछेक गर्न सकेका छैनन् । उनीहरुले सकेसम्म कम भिडभाड गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन आग्रह भने गर्ने गरेका छन् ।