काठमाडौं । काभ्रेपलाञ्चोकको महाभारत क्षेत्रमा डडेलो लागेको तीन दिन भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । महाभारत क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा लिन नसकिएपछि आजबाट हेलिकप्टर मार्फत आगो निभाउन थालिएको छ ।
खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानमा जंगलमा मंगलबार दिउँसोबाट आगो सल्किएको थियो । जंगल ठाडै भिरालो र अत्याधिक हावाहुरीको कारण आगो नियन्त्रणमा लिन कठिन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
आगो नियन्त्रणमा लिन स्थानीय, प्रहरी र सेना परिचालन गरिए पनि नियन्त्रणबाहिर गएपछि प्रदेश सरकार र संघीय सरकारसँग समन्वयमा आजबाट हेलिकप्टर प्रयोग गरी आगो नियन्त्रणमा लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । आज बिहान ११ बजेदेखी नै हेलिकप्टरले नजिकैको खोलाबाट पानी ओसारेर आगलागी भइरहेको क्षेत्रमा खन्याइरहेको छ ।