काठमाडौं । काठमाडौको खुल्ला मञ्चमा खाना खान आउने र महानगरको प्रहरीका बीचमा झडप भएको छ । काठमाडौ महानगरपालिकाले खुल्ला मञ्चमा खाना खुवाउन नदिएपछि उनीहरुका बीचमा झडप भएको हो ।
लामो समयदेखि हाम्रो टिम नेपालले खुल्ला मंचमा खान खुवाउदै आएकोमा आजदेखि महानगरपालिकाले खुल्ला मंचमा खाना खुवाउन प्रतिवन्ध लगाएको हो ।
महानगरपालिकाले आजदेखि प्रसुती गृहको पछाडी खोलाको छेउमा खाना खुवाउन निर्देशन दिएपनि खाना खान आउनेहरु खोलाको छेउमा जान नमानेपछि झडप भएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
खाना खान खुल्ला मञ्चमा आएकाहरुलाई हिडेर सामुहिक रुपमा खोला तर्फ लैजान खोजेपनि उनीहरुले नमानेको र प्रहरीले लखेट्न खोजेको उहाँले बताउनु भयो । महानगरपालिकाले यसअघि पनि खुल्ला मंचमा खान नखुवाउन पटक पटक चेतावनी दिदै आएको थियो । तर उनीहरुले खुवाउदै आएका थिए ।
कोरोनाभाइरसको महामारीका कारण रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा निःशुल्क खाना खुवाउँदै आएको छ। खुलामञ्चमा खाना खुवाउँदा महानगरको बेइज्जत भएको भन्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अन्यत्र खुवाउने व्यवस्था गरिने बताउनु भएको थियो ।
पार्टी प्यालेसको व्यवस्था गरिने उहाँले बताएपनि आज खोलाको छेउमा जान भनिएपछि उनीहरु आक्रोशित भएका हुन् । खुल्ला मंच खाना खानका लागि दैनिक तीन सय देखि चार सय सम्म मानिसहरु आउने गरेको हाम्रो टिम नेपालका अध्यक्ष पन्तले जानकारी दिनुभयो ।