काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यो वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाउन लागिएको हो ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो ।
त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभयो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभयो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सीमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।
यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गर्ने गरिएको छ ।