Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘जगदुल्लाको ठेक्का प्रक्रियालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’

‘जगदुल्लाको ठेक्का प्रक्रियालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’

  • मंगलवार, पौष २३ २०८१

  • 513
    SHARES

  • ‘जगदुल्लाको ठेक्का प्रक्रियालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’

    काठमाडौं। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना(१०६ मेगावाट)को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ती जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यको बोलपत्र आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यामले आफ्नो कम्पनी र उर्जामन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

    “यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आँफैमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ,”–कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

    जगदुल्लाले आफ्नो कम्पनीको विषयसँग जोडेर माननीय मन्त्रीज्यूको चरित्रहत्या गर्ने निहित उदेश्यका साथ विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहिन, अनर्गल एवं कपोलकल्पित समाचारप्रति गम्भीर आपत्ती जनाएको छ ।

    “यस कम्पनीको सञ्चालक समितिमा मन्त्रीज्यू संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, साथै, मन्त्रालय र माननीय मन्त्रीज्यूको निर्देशन तथा सुझाव लिनुपर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीय मन्त्रीज्यूले कुनै चासो राख्नुभएको वा कुनै निर्देशन दिनुभएको छैन,”– विज्ञप्तीमा भनिएको छ ।

    कम्पनीले यस्ता प्रकारका तथ्यहिन एवम् भ्रामक समाचारले यस कम्पनी र माननीय मन्त्रीज्यू एवम् मन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आम नागरिकमा भ्रम सिर्जना गर्ने कार्य गर्ने र कालान्तरमा मन्त्रालयजस्तो गरिमामय संस्थाको गरिमा घटाउने, आपसमा द्धन्द्ध सिर्जना गराउने र आपसी विश्वासको वातावरण विथोल्ने जस्ता कार्यहरुमात्र हुने हुँदा मुलुकलाई नै नोक्सान पुग्ने अवस्था रहने बताएको छ ।

    अहिलेको तरल अवस्थामा आमसञ्चार माध्यमको भूमिका आपसी विश्वास, सद्भाव र सहकार्यलाई जोड दिने प्रकृतिको हुनुपर्ने कम्पनीले जनाएको छ । “सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम मर्यादा तथा आचारसंहितालाई समेत भुलेर सम्प्रेषण गरेको समाचारले हामीलाई दुःखित तुल्याएको छ, प्रकाशित सामाग्रीको सत्यतथ्य जाँच नगरी समाचार प्रकाशन गर्नु निकै दुर्भाग्यपूर्ण छ,”– विज्ञप्तीमा भनिएको छ ।

    राष्ट्रको चौँथो अंगका रुपमा रहेको सञ्चार क्षेत्रले आगामी दिनमा तथ्यपरक, विश्वसनीय तथा वस्तुपरक समाचार सम्प्रेषण गर्नहुन उक्त कम्पनीले आग्रह समेत गरेको छ । उक्त कम्पनीले समाचारको विश्वसनीयताका लागि आफनो कम्पनीमा जुनसुकै बेलापनि सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । कम्पनीले यसै प्रेस विज्ञप्तीलाई आधार मानेर यसअघि प्रकाशित समाचारको खण्डन गरिदिनसमेत सबैलाई अनुरोध गरेको छ ।


    मंगलवार, पौष २३ २०८१०३:३०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij