काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय ढाँचाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीलाई आज काठमाडौंमा सम्बोधन गर्दै पौडेलले मुलुक संघीय संरचनामा गइसकेपछि सोहि अनुसारको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले राजस्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अब भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गर्नुभयो ।
सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि समेत राज्यले आफैले स्रोत व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले राष्ट्रिय आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने भनिए पनि वास्तविक रुपमा त्यस्तो हुन नसकेको विषयमा समीक्षा जरुरी रहेको धारणा राख्नुभयो ।
खर्च व्यवस्थापनमा निकै कमजोर देखिएको भन्दै उहाँले यसका कारण वित्तीय प्रणालीमा समस्या आउन सक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै मन्त्री पौडेलले बेरुजुको अवस्था वृद्धि गर्दै गएको अवस्थामा यसलाई न्यूनिकरण गर्ने उपायको खोजी गर्नुपर्ने बताउनुभयो ।