काठमाडौं । नेपालमा मंकीपक्स संक्रमण एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ। यो रोग विगतमा अफ्रिकी क्षेत्रमा मात्र सीमित भए पनि आजभोलि विश्वभर गम्भीर खतराका रूपमा फैलिइरहेको छ । मंकीपक्स एक दुर्लभ भाइरल रोग हो ।
नेपालमा अहिलेसम्म ३ जनामा मंकीपक्स पुष्टि भएको छ। नेपालमा सबैभन्दा पहिले एक जना ६० वर्षीय विदेशी महिलामा र पछिल्लो पटक साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको हो ।
मंकीपक्स नेपालमा पनि देखिएपछि अहिले आमनागरिकमा संक्रमणबारे जिज्ञासा र डर दुवै पैदा भएको छ। मंकीपक्स कस्तो खालको रोग हो? यसका लक्षण के के हुन्? नेपालमा संक्रमण सर्ने जोखिम कस्तो छ? यसबारे आमनागरिकमा जिज्ञासा पैदा भएको हो ।
संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार ज्वरो आउनु, चिसो लाग्नु, टाउको र मांसपेशी दुख्नु, थकान महसुस हुनु, लिम्फ नोडहरू सुन्निनु आदि मंकीपक्सका प्रारम्भिक वा सामान्य लक्षण हुन् ।
त्यसकारण खासगरी मंकीपक्स देखिएको देश वा ठाउँबाट आएका र आएको २१ दिनभित्र शरीरमा पानीफोका देखिए नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा सम्पर्क गर्न अथवा अस्पताल जान प्रेरित गर्नुपर्ने डा पुन सुझाव दिनुहुन्छ ।
संक्रमित व्यक्तिसँग यौन सम्पर्क राख्दा, अँगालो मार्दा वा चुम्बन गर्दा घाउमार्फत मंकीपक्सको भाइरस सर्ने गर्छ । नेपालीका लागि मध्यपूर्वका देशहरु रोजगारीको प्रमुख गन्तव्य हुन् । दैनिक सयौं व्यक्ति साउदी अरब, यूएई, कतार जस्ता देशमा गइरहेका छन् ।
त्यसैगरि, ती देशबाट फर्किने पनि उत्तिकै देखिन्छन् । मानिसको ठूलो आवतजावतबाट एक देशमा देखिएको÷फैलिएको संक्रमण अर्को देशमा पुग्न सक्ने सम्भावना उत्तिकै प्रबल रहने गर्छ ।
त्यस्तैगरि, छिमेकी देश भारतमा पनि मंकीपक्सको संक्रमण फैलिए नेपालमा जोखिम धेरै नै हुने र समुदायसम्म फैलिने डर हुने डा पुनको भनाई छ । त्यसैले सरकारले समयमा नै सतर्कता अपनाउनुपर्नेमा उहाँ सुझाव दिनुहुन्छ ।
नेपालमा मंकीपक्सको जोखिम मध्यपूर्वका देशहरुबाट मात्र छैन । हाल यातायातको सहज पहुँचका कारण विश्वका कुनै पनि देशबाट नेपालमा आयातीत नहोला भन्न सकिंदैन । यसको फैलिने जोखिम नेपालमा विभिन्न कारणले रहेपनि समयमा नै पहिचान गरी सही परामर्श वा उपचार गर्न सके यो रोग सहजै निको हुनसक्ने विज्ञहरु बताउछन् ।
नेपालमा पछिल्लोपटक दुई जना नयाँ संक्रमित देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स फैलिन नदिन र यसको जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाएको र तयारी अवस्थामा रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारको व्यवस्थापनका लागि नेपालका १४ वटा अस्पताललाई तोकिएको छ । ति अस्पतालहरुमा मंकीपक्सको परिक्षण हुने, उपचार हुने, परामर्श हुने र व्यवस्थापन पनि हुने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई तथा जमिनका नाकाहरुमा स्वास्थ्यकर्मीहरुले सचेतना फैलाउने र सतर्कता अपनाउने काम गरिरहेका छन् । मन्त्रालयका प्रवक्ता बुढाथोकीले रोगको शंका लागेमा वा शंकास्पद देशबाट आएकाहरुलाई तीन हप्ता क्वारेन्टाइनमा बसिदिन आग्रह गर्नुहुन्छ ।
स्वास्थ्य मन्त्रालय र विज्ञहरुले संक्रमणबाट बच्न आग्रह गरिरहेको अवस्थामा आमनागरिक स्वमं आफैले सावधानी अपनाउन जरुरी छ ।शंका लाग्ने वित्तिकै चिकित्सको सम्पर्कमा रहने र नजिकको अस्पतालमा गएर देखाईहाल्न विज्ञहरुले सुझाव दिएका छन् ।
पछिल्लो समय मंकीपक्सका विषयमा विश्व स्वास्थ्य समुदायको विशेष ध्यान आकर्षित भएको देखिन्छ,जसले गर्दा यसको व्यापकता, जोखिम र रोकथाम तथा नियन्त्रणका उपायलाई लिएर विभिन्न अनुसन्धान र नीतिगत पहल पनि विश्वभर अघि बढिरहेका छन् ।