काठमाडौं। नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न भएको छ। भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रको भवनमा यही पौष ११ र १२ गते चौथो महाधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।
सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं भन्ने मूल नाराको साथ स्थापना भएको यस संगठनको चौथो महाधिवेशनको समुद्घाटन गर्दै प्रमुख अतिथि ने.क.पा. माओवादी केन्द्रका उपमहासचिव तथा कर्मचारी फ्रयाक्सन ईन्चार्ज हरिबोल गजुरेलले नेपालकै जेठो बैंक रहेको नेपाल बैंक लिमिटेडले आफ्नो शाखः र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको शसक्त प्रतिकार गरिने बताउँदै चौथो महाधिवेशनबाट चयन हुने केन्द्रीय समितिलाई कर्मचारी हकहितमा लाग्नको निम्ति शुभकामना व्यक्त गर्नुभयो ।
यस्तै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गर्दै यस अधिवेशनबाट शसक्त र जुझारू केन्द्रीय समिति चयन होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सुवेदीले नेपाल बैंक लिमिटेडलाई २०५८ सालकै अवस्थामा पुर्याउन हालको बैंक व्यवस्थापन उद्दत्त रहेको भन्दै संस्थागत सुशाषन कायम गर्न तथा समग्र कर्मचारीको वृत्तिविकासको लागि जस्तोसुकै अन्दोलन गर्न पछि नपर्ने तथा यो चौथो अधिवेशनको भव्य र विशाल उपस्थतिले आफु तथा संगठनलाई बैंक तथा कर्मचारी हकहितको निम्ति लाग्न थप उर्जा प्रदान गरेको बताउनुभयो ।
सो समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकीले संगठनको भूमिकाहरूको बारेमा प्रकाश पार्दै आफ्नो शुभकामना व्यक्त गर्नुभयो ।
महाधिवेशनमा ने.क.पा. माओवादी केन्द्रका उपमहासचिव तथा कर्मचारी फ्रयाक्सन ईन्चार्ज हरिबोल गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय महासचिव प्रेम खनाल विशिष्ट अतिथि रहनु भएको थियो।
नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकीज्यू लगायत बैंक व्यवस्थापन तथा विभिन्न संघ संस्थाहरूबाट विभिन्न व्यत्तिहरुको उपस्थिति रहेको थियो ।
देशभरीबाट करीब ५०० जनाभन्दा बढी क्रियाशील सदस्यहरूको उपस्थितिमा दुई दिनसम्म चलेको सो अधिवेशनबाट अध्यक्ष गोविन्द प्रसाद सुवेदीको नेतृत्वमा महासचिव मोहन कु्मार श्रेष्ठ सहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित भएका थिए ।
