Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

  • बुधवार, पौष १० २०८१

  • 352
    SHARES

  • चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।

    ‘क्रिसमस डे’, २०२४ को अवसरमा बुधबार सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले पर्व/त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागिसमेत उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

    क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्षको डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी/धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ ।

    शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तबिच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ । 

    चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ । उहाँले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    उहाँले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना पुनः व्यक्त गर्नुभएको छ । रासस

     


    बुधवार, पौष १० २०८१०९:२९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij