काठमाडौं। मुग्लिन–नौबिसे सडकखण्ड दिउँसोमा एक साता बन्द हुने भएको छ। पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडकखण्डमा पोखरेभिर र विशालटारमा घुम्ती सुधार गर्न पुस ७ आइतबारदेखी १३ गतेसम्म दिनको तीन घण्टा बन्द गर्न लागिएको हो ।
नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दराईका अनुसार बिहान ११ः०० देखि दिउँसो २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो ।
पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ। चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ।
यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने छ।
एम्बुलेन्स र सुरक्षा निकायका सहित अत्यावश्यक सवारीसाधन भने आवश्यकताका आधारमा सञ्चालनमा सहजीकरण गरिने छ।