काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा चर्चित कलाकार चन्द्र शर्मालाई पितृ शोक परेको छ ।
दाङ्गको घोराही नगरपालिका, हापुर निवासी उहाँका पिता डण्डप्रसाद शर्माको उपचारकै क्रममा दाङ्गकै राप्ती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
निमोनिया र सुगरका कारण अस्वस्थ्य हुनुभएका शर्माको उपचारकै क्रममा निधन भएको प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारीले जानकारी दिनुभयो ।
उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखेर उपचार गराइएको थियो । गएराती ७६ बर्षको उमेरमा निधन भएका शर्माका श्रीमती र दुई छोरा हुनुहुन्छ । स्वर्गिय शर्माका कान्छा छोरा प्रेम शर्मा पनि कलाकार हुनुहुन्छ ।
उहाँको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रिता थापा, पूर्व अध्यक्ष दुर्गा रायमाझी, निवर्तमान अध्यक्ष रमेश विजि लगायतका सयौँ कलाकार तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
यसैबीच, नेपाली कांग्रेस साहित्य,कला तथा संस्कृति विभागका सदस्य चन्द्र शर्माका पिताको निधनमा विभागले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। विभागका प्रमुख विद्या तिमिल्सिनाले विज्ञप्ती जारी गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
