काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ ।
वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । भगवानले नै अर्जुनमार्फत् गीताको ज्ञान दिएको मान्यता छ ।
कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।