काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै उहाँले न्यायपूर्ण, समतामूलक समाज निर्माण गर्न विश्वको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले समेत सामाजिक न्यायको दिशामा अग्रसरता लिनुपर्ने बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार रहेको धारणा राख्नुभएको छ ।
उहाँले वञ्चितीकरणमा परेका समुदाय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हक, अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन सकेमा मात्र मानव अधिकार दिवसले सार्थकता पाउने बताउनुभयो ।