काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोट्ल्सले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको छ ।
जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित ७५ रन बनाए। उनले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए।
हर्ष थाकेरले अविजित २९ रन बनाए। बलिङमा विराटनगरका चेरिस सोल र प्रतिश जिसीले एकएक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो।
विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेले। ५५ रन बनाएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्दा अकिब इल्यासले १५ रन बनाए ।ओपनर लोकेश बम पाँच रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट, किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।