काठमाडौं । भोली आईतवार हुने स्थानिय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि हुने मतदानको तयारी पुरा भएको जनाएकोे हो। निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
नगरपालिका प्रमुख एक,उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव निता पोख्रेल अर्यालले गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक)मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्। उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरि ३७६ जनाउमेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि जिल्ला समन्वय समिति ओखलढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने र यसपटक मतदानको २ दिनभित्रै नजिता दिने आयोगले जनाएको छ।