काठमाडौं। गृह मन्त्रालयले केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने काम गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य त्यस्ता अभिव्यक्ति सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ।
विभिन्न जातजाति, धर्म सम्प्रदायबिचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरूलाई निरुत्साहित गर्न विभिन्न कानुनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराध मानेको पनि मन्त्रालयले स्मरण गराएको छ।