काठमाडौं। निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ।
आज बसेको आयुक्तहरूको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो। आज रातिदेखि मौनअवधि सुरू हुने भएकाले अवाञ्छित गतिविधि हुन नदिन पनि आयोगले निर्देशन दिएको छ।
उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्न, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न आयोगले निर्देशन जारी गरेको हो।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनका क्रियाकलापमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीबाट सम्पूर्ण उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गरी निर्वाचन सम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान गर्न सम्बन्धित निकायहरूले आवश्यक सतर्कता अपनाई निर्वाचन सम्पन्न गर्न गराउन निर्देशन दिइएको आयोगले जनाएको छ।