काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुली उपभोग गरी बिल भुक्तानी बक्यौता रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको छ ।
बुधबार(आज) बसेको प्राधिकरण बोर्ड बैठकले विद्युत् नियमन आयोगको पत्रअनुसार उद्योगहरूमा लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले बक्यौतालाई आधार बनाएर लाइन काटेका उद्योगमा सरकारको कात्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाउने गरी पुनः लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणको बोर्डको बैठकले निर्णय गरेर उद्योगमा लाइन जोडिएको आज १५ दिन समय बित्दा पनि उद्योगीबाट प्राधिकरणले बक्यौता भने उठाउन सकेको छैन ।
प्राधिकरणले आज उद्योगहरूमा पुनः लाइन काट्न सक्ने देखेपछि हिजो मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई पत्र लेख्दै उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनको आधारमा बक्यौता बाँकी रहेका उद्योगमा पुनः लाइन नकाट्ने निर्णय बोर्डले गरेको प्राधिकरणका प्रवक्ता घोषले बताउनुभयो ।
तर, प्राधिकरण बोर्ड बैठकले गरेको निर्णयमा भने दुई जना सञ्चालकले असहमति जनाएका छन् । बोर्डका सदस्य डा. कपिल आचार्य र भक्तबहादुर पुनले बोर्डको निर्णयमा असहमति जनाउनुभएको हो । डा. आचार्यले पैसा नउठाई लाइन जोड्ने निर्णयले समस्या थप बल्झिने बताउनुभयो ।