काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजोबाटै सुरु भएको छ ।
यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ ।
गाई, गोरु र आत्म अर्थात् म्ह पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदैछ ।
बिहान ११ बजेर ३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।