काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा थालिएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका जोशीलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको थियो । उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिन थालिएको हो ।
केही दिनअघि जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा जोशीलाई बयानका लागि रुपन्देही लगिएको थियो । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा कुमार रम्तेलको बयानपछि जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको हो । रम्तेललाई भने पोखरा फिर्ता गरिसकिएको छ । सोही प्रकरणमा कास्की हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याउने तयारी छ । छविको बयान सकिएपछि रविलाई काठमाडौं ल्याउने बताइएको छ ।