Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

  • मंगलवार, मंसिर ४ २०८१

  • 626
    SHARES

  • साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ
    काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं  पक्राउ परेका छन् ।
     
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
     
    सीआईबीका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
     
    प्रसाईंले केही युट्युबर भेला पारेर प्रधानमन्त्री ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै ‘फेक सामग्रीसहितको विवरण’ सार्वजनिक गरेको सीआईबीका एक अधिकारीले बताउनुभयो ।
     
    प्रसाईंले ओलीको लगानी रहेको जिकिरसहित सोमबार मात्रै फेसबुकमासमेत केही विवरण सार्वजनिक गरेका थिए । उनले ‘केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ शीर्षकमा एउटा भिडियो पनि फेसबुक वालमा हालेका थिए ।
     
    उनले उक्त विवरण सार्वजनिक गरिसकेपछि आफू गिरफ्तारीमा पर्न सक्ने पनि उल्लेख गरेका थिए । त्यसपछि मंगलबार उनले आफूलाई पक्राउ गर्न सक्ने भन्दै फेसबुकमा लेखेका थिए ।
     
    ‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झूटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ’, उनले भनेका थिए, ‘मलाई साइबर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु ।’
     
    बीएन्डसी मेडिकल कलेजका मालिकसमेत रहेका प्रसाईं यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए । त्यसबेला साइबर क्राइम र चरित्र हत्या आरोपमा पक्राउ परेका उनी १५ असोजमा एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि उनी ‌ओलीविरुद्ध झन् झन् आक्रामक भएर लागेका थिए ।
     
    त्यसबेला प्रसाईंविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो । सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईंलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो ।
     
    प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो ।


    मंगलवार, मंसिर ४ २०८१०२:०९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij